
विराटनगर, १ माघ । आज (बिहीबार) माघ १ गते अर्थात मकर सङ्क्रान्ति पर्व । विभिन्न समुदायले आ–आफ्नो संस्कार र परम्पराअनुसार सौर मासअनुसार माघ महिनाको पहिलो दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् ।
आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।
यसैगरी थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।
सार्वजनिक बिदा
सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले गत मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो
सरकारले आजको दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।