
काठमाडौँ, १ माघ । राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहीबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन गर्न अझै कम्तीमा एक साता लाग्ने बताए । “विद्यालयहरुले हामीले दिएको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो । अबको १० दिनभित्र नतिजा सार्वजनिक भइसक्नेछ,” उनले भने ।
उनका अनुसार विवरण ‘इन्ट्री’ गर्ने कार्य सकिएको छ । उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ । उनले विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाएको र त्यसले गर्दा नतिजा समयमा प्रकाशन गर्न ढिला भइरहेको बताउँदै थपे, “विद्यालयहरुले जथाभावीरुपमा मार्क इन्ट्री गरेर पठाएका छन् । भद्रगोल बनाएर पठाएका छन् । केन्द्राध्यक्षलाई हामीले कसरी विवरण पठाउने भनेर तालिम पनि दिएका थियौँ तर उनीहरुमा ‘कमनसेन्स’ पनि देखिएन । मनपर्दी किसिमले उत्तरपुस्तिका पठाएका छन् । हातैले मार्क इन्ट्री गरेर पठाएका छन् ।”