
विराटनगर, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए ।
उनका अनुसार औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गाम्भीर्यताका आधारमा तहगत रूपमा व्यवस्थित गर्ने काम भएको छ ।
दुवै देशका प्रतिनिधिमण्डलले आफ्नो विषयसूची एकअर्कासँग मेल खाने गरी समसामयिक आधारमा बैठकमा प्रस्तुत गर्ने तयारी पहिलो दिन गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले संयुक्त रूपमा अध्यक्षता गर्नुहुने संयुक्त आयोगको औपचारिक बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिए ।
भारतीय विदेश मन्त्रालयले जनाएअनुसार आज बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक सुरु हुनेछ ।