
विराटनगर, ३ माघ । भारतले कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भारतमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन गरेको आग्रह स्वीकार गर्दै भारतीय पक्षले कोभिड विरुद्धको खोप आउनासाथ नेपालको आवश्यकताअनुसार प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।
बैठकमा कोभिड महामारीका समयमा पनि दुई देशले घनिष्ट सहकार्य गरेर त्यसबाट आएका चुनौतीको सामना गरेको भन्दै एकअर्काको सराहना गरिएको थियो । नेपाली प्रतिनिधि मण्डलले कोभिड महामारीका समयमा भारत सरकारले आवश्यक औषधि तथा मेडिकल उपकरण सहयोग गरेकामा धन्यवाद प्रकट गरेको थियो ।
बैठकमा सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यस बैठकले दुई देशबीच कायम सम्बन्धको सबै आयाममा छलफल गर्ने म्यान्डेट रहेको औँल्याए । निरन्तरको संवाद र आपसी समझदारीमा नै दुई देशको सम्बन्धको जग रहेको उनले प्रष्ट पारे ।