
बागलुङ, ५ माघ । जापान वैदेशिक रोजगारीको लागि सपनाको देश बन्दै गएकाले नेपाली युवा विभिन्न माध्यमको प्रयोग गरेर त्यहाँ श्रम बेच्न चाहन्छन् । विदेश जान रुचाउने युवाको आँखा जापानमा केन्द्रित हुुने गरे पनि नेपालमै राम्रो आम्दानी हुने विश्वासमा जापानबाट फर्केर नेपालमा आएका उदाहरण पनि छन् ।
म्याग्दीको बेनी नगरपालिका–१ दिनेश रावल जापानबाट फर्केर नेपालमै काम गरेर उदाहरणीय बन्न पुगेका छन् । सके वैधानिक नसके अवैधानिक बाटो अपनाएर जापान जानेहरुको भीडबाट रावल भने जापान त्यागेर आफ्नै माटोमा पसिना बगाउन थालेका छन् । सन् २००८ मा विद्यार्थी भिषामार्फत् जापान गएका रावल सन् २०१४ मा नेपाल फर्किएका थिए ।
जापानमा गर्ने दुःख आफ्नै देशमा गर्न सके परिवारसँगै जीवन बिताउन सकिन्छ भन्ने सोचका साथ नेपाल फर्किएका रावलले विदेशबाट फिर्किंदा साथ तनहुँको आवुखैरेनीमा आफ्नो दाईसँग होटल संचालन गरेका थिए । चारवर्षको अवधिमा होटलले राम्रो कमाई दिएको थियो । यही बीचमा कोरोना त्रासले लामो समय होटल बन्द गरेर उहाँ परिवार तथा होटलका कामदारसहित आफ्नै गाउँ फर्किए ।
गाउँ फर्केर कृषि पेसा संचालन गर्ने सोचका साथ गाईभैँसी पाल्ने योजना बनाएर रावल पशुपालन तथा कृषि फर्म संचालन गरेका छन् । बन्दाबन्दीकै समयमा बनेको योजना अहिले कार्यान्वयनमा आएको छ । रावलले सात वटा उन्नतजातको भैँसी र दुई वटा उन्नतजातको गाई पालेर दुध बेच्न थालेका छन् ।
उनका दाई रमेश रावलले पनि चार वटा मुर्राभैँसी पाल्न सुरु गरेका हुन् । रावलको फर्मबाट अहिले दैनिक ५० लिटर दुध बेनी र बागलुङ बजारमा विक्री हुँदै आएको छ । ‘सुरुमा भैँसी पाल्छु भन्दा परिवार र गाउँलेले पत्याएनन्’ उनले भने, –‘लकडाउनका कारण परिवार कन्भिन्स भए ।’ जापानबाट फर्किदै कृषि गर्ने सोचका साथ आएको उनले सुनाए । ‘जापान बसेको, होटल गरेको मान्छेले के को भैँसी पाल्छन् भनेर धेरै सुन्नु पर्यो’ रावलले भने, –‘अब यसैमा भविष्य बनाउने हो ।’ रावल परिवारले गाउँमै रेष्टुरेन्ट संचालनको तयारी पनि गरेको छ । भाईभैँसी खरिदलगायतको संरचना निर्माणमा करिव २२ लाख रुपियाँको लगानी भएको छ ।