
एजेन्सी, ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोइ बाइडेनले आज राजधानी वाशिंगटन डीसीमा जोइ बाइडेनले पदभार ग्रहण गर्ने भएका छन् । आज मध्यान्ह एक समारोहका बीच राष्ट्रपति निर्वाचित बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिँदै व्हाइट हाउसको यात्रा गर्नेछन् ।
तर सत्ता हस्तान्तरण समारोह आयोजना हुनुभन्दा दुई साताअघि मात्रै क्यापिटोलमै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि बिगत झैं समारोह सामान्य तवरले समारोह आयोजना नहुने आँकलन गरिएको छ । उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो ।
कोभिड–१९ को बढ्दो सङ्क्रमण र ट्रम्प समर्थित कार्यकत्र्ताको आक्रमणको जोखिमका बीच शपथ समारोह हुने हुँदा अमेरिकी सुरक्षा निकायले तयारीमा कुनै कसर बाँकी नराख्ने जनाएको छ । समारोहका लागि सुरक्षाको चुस्त प्रबन्ध गरिँदैछ । गत् सातादेखि नै नेशनल गार्ड्स क्यापिटोल पुग्न सुरु गरिसकेका छन् । करिब २५ हजारको संख्या नेशनल गार्ड्स सुरक्षा दिनेछन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदको शपथ लिँदा करिब आठ हजार नेशनल गार्ड्स परिचालन गरिएको थियो ।
पेन्टागनले परिचालन गरिने सैन्य दस्तामध्ये केहीलाई हातहतियारबाट सुसज्जित रहन अनुमति दिइसकेको छ । केहीले स्वचालित राइफल्स र केहीले ‘हयाण्ड गन’ बोकेको तस्विरहरु समेत सार्वजनिक भएको छ । शहरका बीचमा अवस्थित क्यापिटोलसम्म पुग्ने बाटो बन्द गर्ने र सम्बन्धित ब्यक्तिलाई मात्रै पहुँच दिन सुरक्षाकर्मीहरु जिम्मेवार हुनेछन् ।