
विराटनगर, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट फुकुवा भएका छन् । आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको लागि सन्दीप दिल्लीबाट बाहिरिएका हुन् ।
योसँगै अब सन्दीपलाई आगामी संस्करणका लागि अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । दिल्लीले सन्दीपसँगै ६ खेलाडीलाई फुकुवा गर्ने निर्णय गरेको हो । दिल्लीले अघिल्लो संस्करणको आपिएलमा सन्दीपलाई कुनैपनि खेलमा मौका नदिइ बेन्चमै राखेको थियो ।
उनी सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा दिल्लीमा अनुबन्ध भएका थिए । २०१८ मै सन्दीपले तीन खेलमा मौका पाउँदा पाँच विकेट लिएका थिए । सन् २०१९ को आइपीएलमा सन्दीपले ६ खेलमा मौका पाउँदा ८ विकेट लिएका थिए ।
हाल सन्दीप अष्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटअन्तर्गत होवार्ट हेरिकेन्सबाट खेलिरहेका छन् ।