२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ओखलढुंगा, ११ माघ । अकबरे खुर्सानी पछिल्लो समय ओखलढुङ्गाका किसानका लागि आयआर्जन गर्ने प्रमुख बाली बनेको छ । नेपाल र देश बाहिर रहेका नेपालीको रोजाइमा पर्ने यो खुर्सानी खेतीबाट छोटो समयमै मनग्य आम्दानी लिन सकिन्छ।

नगदेबालीमा पर्ने अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थाले पछि जिल्लामा पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । सहजरूपमा खेती गर्न सकिने र कम मिहिनेत पर्ने भएकाले पनि अकबरे खोर्सानीमा किसान उत्प्रेरित बन्दै गएका छन् ।

गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष आधा भन्दा बढी रोगले सखाप परेको सिद्धिचरण नगरपालिकाका किसान तेजनारायण श्रेष्ठले बताए । आफूले लगाएको अकबरेको अन्य जिल्ला तथा राजधानीका बजारबाट समेत माग आउन थालेपछि आफूले अन्य बाली मासेर अकबरे लगाएको उनको भनाइ छ । अकबरेमाा मिहिनेत गर्न सके राम्रो आम्दानी लिन सकिने श्रेष्ठले बताए ।

जिल्लाका कतिपय स्थानमा अकबरेमा विभिन्न रोग लागे पछि किसानहरु चिन्तित बनेका छन् । गएका वर्षहरुमा अकबरेबाट लाखाैं कमाई गरेका किसानहरुले यो वर्ष तुलनात्मक रुपमा कम कमाई गरेका कृषि प्रविधिक वीरेन्द्र तामाङको भनाई छ । बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको किसानहरु बताउँछन् ।

समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने किसानह बताउँछन् । अकबरेको माग गर्मी मौसममा भन्दा चिसोमा बढी हुन्छ । यो पुस र माघमा अकबरेका माग उच्च हुन्छ । किसानले पनि यही मौसममा अकबरेबाट प्रसस्त आम्दानी लिनुपर्ने हुन्छ । पछिल्लो समय देश विदेशबाट पनि अकबरेको माग आएकाले अकबरे नबिक्ला भनेर डराउनु नपार्ने अकबरे खेती गर्दै आएका किसान श्रेष्ठको भनाई छ ।

जिल्ला सदरमुकाममा लाग्ने सप्ताहिक हाटमा यो वर्ष रु ४८० देखि ५०० रुपियाँ प्रतिकिलोका दरले अकबरे बिक्री भइरहेको छ । लिखु गाउँपालिका–२ सिंहदेवी कुवापानीका किसान नेत्र बोगटीले यो वर्ष प्रतिकिलो रु ६०० का दरले अकबरे बिक्री गरेको बताए । यही वर्षबाट अकबरेको व्यावसायिक खेती सुरु गर्नु भएका बोगटीले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि आसपासका जिल्ला र काठमाण्डौमा समेत रहेको छ ।

प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सताएकोे छ । ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग भएकाले अकबरे ओइल्याउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो । यसबाट अकबरे बचाउनका लागि माटो परीक्षण गर्नुपर्ने, प्राङ्गरिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरक–फरक खेती लगाइरहनु पर्ने हुन्छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टिका बानियाका अनुसार यो रोग बीउ र मोटो दुवैबाट लाग्न सक्छ । अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याक्दा पनि नियन्त्रण हुन सक्छ । बढी घाम लाग्ने र बलौटे माटोमा यो रोग देखिने र बिरुवा गोड्दा घाउ बनेको छ भने त्यहाँबाट पनि हावाको माध्यमबाट यो रोग सर्ने उनको भनाइ छ ।

यस्तै अर्को अकबरेमै देखिने रोग (ड्यापिङ अप) पनि बिरुवाको डाँठमै पहिले देखिने गर्छ । यो रोगले भने बिरुवाको फेद र डाँठ सुकेर जाने गरेको बनियाले बताए । यसका लागि चाहिँ कालो प्लाष्टिकमा ड्याङ बनाएर खेती गर्दा उचित हुने उनको सल्लाह छ ।

पछिल्लो समय अकबरेमा देखिएको रोग मोटल भाइरसले धेरै नोक्सानी गरेको कृषि विशेषज्ञले बताउँछन् । अकबरे फल दिने समयमा छिर्के हुने, पहेँलो रङको देखिने लक्षण देखिने र यो रोगबाट अकबरे बचाउन गाईको दूध (आधा लिटर)मा पानी (चार लिटर) हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने किसान तथा कृषि प्रविधिक बिमला खड्काको भनाई छ । जिल्लाका अधिकाँश गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!