
विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उनले यस्तो बताएका हुन् । आवश्यक परेको खण्डमा संसद् बैठक बाेलाएर कारवाही गर्ने बताउँदै उनले त्याे अधिकार संविधाले दिएकाे उल्लेख गरे ।
यसैगरी उनले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताएका छन् । प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको नभएर लोकतन्त्र माथि नै हमला गरेकाे उनकाे भनाइ छ ।
पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए ।
अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।”