२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

खोटाङ, २० असाेज । खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो ।

शिविरमा तरकारी, फलफूल, खाद्यान्न, तेलहन-दलहन तथा नगदे बालीको नमूना परीक्षण गर्नुका साथै उपचार विधिका बारेमा किसानलाई जानकारी दिइएको छ ।

वडाध्यक्ष दिनेश राईका अनसार बाली उपचार शिविरमा विभिन्न गाउँका ६२ किसानले ल्याएका धान, कोदो, सुन्तला, कागती, अमिलो, केरा, लिची, अलैँची, गोलबेँडा, सिमी, भान्टा, काउली, खुर्सानी लगायतका ६९ वटा नमूनाको परीक्षण गर्नुका साथै रोग तथा किराको उपचार विधिका बारेमा किसानलाई मौखिक तथा लिखितरुपमा परामर्श दिइएको छ ।

रोग तथा कीरा लागेका अन्नबाली तथा बोटबिरुवाको नमूनालाई कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामानन्द यादव र केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले आवश्यक परामर्श दिए ।

शिविरमा सहभागी किसानलाई एजाडिराक्टिङ नामक किटनाशक विषादिसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

शिविरमा हाल किसानको खेत र बारीमा लगाइएका सबै खालका अन्नबाली, सागसब्जी, फलफूल बोटबिरुवा र अन्य वनस्पतीको नमूना परीक्षण एवम् उपचार गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताए ।

उनले भने, “नमूना परीक्षणका क्रममा कुन बाली कति क्षेत्रमा लगाएको, रोग कहिले सुरु भएको, रोगले केमा असर गरेको, हाल बिरुवाको अवस्था के छ भन्ने सोधपुछ गरिएको छ । बालीनालीमा रोग लागेको हो वा किरा लागेको पत्ता लगाएर त्यसको उपचार गर्ने विधिका बारेमा किसानलाई मौखिक र लिखित रुपमा परामर्शसमेत दिइएको छ ।”

नगरपालिकामा ‘अर्गानिक’ अभियान चलिरहेकाले शिविरमा आएका किसानलाई जैविक विधिलाई प्राथमिकता दिएर बालीनालीको उपचार गर्नका लागि सुझावसमेत दिइएको वडाध्यक्ष राईले बताए ।

१५ वडा रहेको उक्त नगरपालिकालाई पाँच वर्षभित्र अर्गानिक बनाउनेगरि अभियान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!