
विराटनगर, २२ असोज। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकता नाइट राइडर्सले साविकको उपविजेता चेन्नई सुपर किंग्समाथि जित निकालेको छ । यूएईमा जारी तेह्रौं संस्करणको आईपीएलअन्तर्गत बुधबार भएको खेलमा कोलकताले चेन्नईलाई १० रनले हराएको हो ।
शेख जायद रंगशालामा भएको खेलमा कोलकताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रनमै सीमित भयो ।
चेन्नईका लागि शाने वाट्सनले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । यसैगरी अम्बाती रायडुले ३० रन बनाउँदा रवीन्द्र जडेजाले नटआउट २१ रन बनाए ।
साम कुरान र फाफ डू प्लेसिसले समान १७ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए ।
कोलकताका शिवम माभी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनिल नारिने र आन्द्रे रुसेलले १–१ विकेट झारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकताले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १६८ रन बनाएको थियो ।
कोलकताका लागि राहुल त्रिपाठीले ८१ अर्धशतकीय इनिङ्स खेले । प्याट कुमिन्सले अजिवित १७ रन बनाउँदा सुनिल नारिने पनि १७ रनमै आउट भए । यस्तै दिनेश कार्तिकले १२ रन बनाउँदा शुभ्नम गिलले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
चेन्नईका लागि ड्वाने ब्राभोले तीन विकेट लिँदा साम कुरान, शार्दूल ठाकुर र कर्ण शर्माले समान २ विकेट लिए ।
यससँगै कोलकताले ५ खेलमा ६ अंक जोडेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
चेन्नईले भने ६ खेलमा ४ अंक जोडेको छ । ऊ अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।