
विराटनगर, २३ असाेज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई जित्न सकिने बताएका छन् । शुक्रबार विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा बनाइएकाे कोभिड–१९ आइसोलेशन कक्ष उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले कुनै देशलाई अछुतो नराखेको उनकाे भनाइ थियो । उनले कोरोनाले धनि गरिब सबै वर्गलाई चपेटोमा पारेको चर्चा गर्दै कोरोनालाई जित्न सबै मिल्नुपर्ने कुरामा जोड दिए ।
नवनिर्मित आइसोलेशनलाई व्यवस्थित गर्न चिकित्सक तथा भेन्टिलेटर सहयोग गर्ने जानकारी दिँदै उनले विराटनगरमा एक हजार श्यया क्षमताको आइशोलेशनको आवश्यकतामा रहको र होम आइसोलशनभन्दा संस्थागत आइसोलेशनको आवश्यकता औल्याए ।
मुख्यमन्त्री राईले आफू बसिरहेकै स्थानमा चाडपर्व मनाइदिन सबैलाई आग्रह गरे ।
विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिए । घर बस्न नसक्ने अवस्थामा रहेका कोरोनाका बिरामीलाई आइसोलेशनमा निःशुल्क रहने व्यवस्था मिलाइएको उनले बताए ।
धेरै दिनदेखि बन्द रहेको सो भवनलाई कोरोना उपचारमा सहयोग पुग्ने उद्देश्यले लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा आइसोलेशन निर्माण गरिएको हो ।