
सुनसरी, २६ असोज । सुनसरीको विभिन्न स्थानमा सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
सुनसरी भोक्राहा नर्सिङ–१ स्थित राजमार्गमा मोटरसाइकलको ठक्कबरबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश न.२–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीय सोकील मियाको मृत्यु भएको हो ।
आइतबार बिहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका सोकीलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी हिजो अपरान्ह सवा ४ बजे सुनसरी दुहवी कदमगाछीस्थित राजमार्गमा मे१ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सुन्दरहरैंचाका ७० वर्षीय कृष्ण दाहाल रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
यस्तै हिजो राति पौने १२ बजे सुनसरी भोक्राहानरसिंह–१ खोनिया पुलस्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७–३८ वर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनी ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।
यता, ट्रक चालक सुनसरी लालपुर–४ का ३२ वर्षीय अनुप चौधरी घाइते भएकोमा उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।