
ओखलढुंगा, २ कात्तिक । ओखलढुंगा र उदयपुरको सीमानामा पर्ने भदौरे भीरमा स्कारपिओ दुर्घटना भएकाे छ । आइतबार बिहान भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो दुर्ङटनामा परेकाे थियो । सो दुर्घटनामा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ ।
राति १ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
मृतकमध्ये ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन ।
रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुङ्गाकै हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ ।