विराटनगर, २७ असार । अर्जेन्टिनाले ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा साविकको विजेता तथा आयोजक राष्ट्र ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
रियो दि जेनेरियोस्थित मराकना स्टेडियममा अर्जेन्टिनालाई जिताउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२औँ मिनेटमा उनले गरेको गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बन्यो । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।
बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।
यससँगै अर्जेन्टिनाले कोपा अमेरिकाको सर्वाधिक धेरै १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ । उसले सन् १९९३ यता उपाधि जित्न सकेको थिएन । ब्राजिल भने नौ पटकको विजेता टोली हो । उसले सन् २०१९ को उपाधि उचालेको थियो ।
यसअघि ब्राजिलले सेमिफाइनलमा पेरुमाथि १–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो भने अर्जेन्टिना कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।




