
सिन्धुपाल्चोक, २१ मंसिर । वैदेशिक रोजगारीबाट फर्किएका र विदेशिन ठिक्क परेका युवा मिलेर तीन करोड रुपियाँभन्दा बढी लगानीमा मेलम्ची गाउँपालिकामा भैँसीपालन गरिएको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका सात युवाले सामूहिक रूपमा इन्द्रावती पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक भैँसीपालन थालेका हुन् ।
६० वटा उन्नत जातका भैँसीपालनबाट अहिले दैनिक चार सयभन्दा बढी लिटर दूध उत्पादन हुने गरेको छ । आफ्नै जन्मथलोमा पसिना बगाए आम्दानी गर्न सकिने देखेर यस व्यवसायमा लागेको भैँसीपालक कृषक सहदेव नेपाल बताउँछन् ।
उनका अनुसार अहिले सबै खर्च कटाएर मासिक पाँच लाख रुपियाँ नाफा हुन्छ । उनले भने, “अब विदेशमा गएर रगत पसिना बगाइँदैन । ”
अर्की भैँसीपालक कृषक उषा पराजुलीले भैँसीपालन गर्न थालेपछि आम्दानी र इज्जत नै बढ्न थालेको बताइन् । जे काम गरे पनि आफ्नै गाउँघरमा गर्दा उचित हुने उनले बताइन् ।
जग्गा भाडामा लिएर भैँसीपालन गरेका कृषकले १० जनालाई रोजगारीसमेत दिएका छन् । गोबर र मल व्यवस्थापन गर्न अर्गानिक तरकारी खेती गरेका उनीहरूको उत्पादन मेलम्ची बजार र राजधानीमा पुग्ने गरेको छ । मेलम्चीमा आफ्नै दूध चिस्यान केन्द्र सञ्चालन गरेको फार्मले पाडापाडी बिक्री गर्न थालेको छ । जिल्लामा नै नमुना र उदाहरणीय बनेको फार्ममा किसानहरू भैँसीपालनसम्बन्धी सीप सिक्न आउने गरेका छन् ।
मेलम्ची नगरपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नारा अघि सारे पनि ती भैँसीपालक कृषकले अहिलेसम्म नगरपालिकाबाट सहयोग नपाएको गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्र धुलिखेलले फार्मलाई १५ लाख रुपियाँ अनुदान सहयोग गरेको जनाइएको छ ।