२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २६ पुस । कीर्तिपुर बस्ने रमिला घिमिरेले दैनिक एक लिटर डीडीसी दूधका लागि ८० रुपियाँ छुट्याउँछन् । हुन त दूधको मूल्य ७६ रुपियाँ हो तर पैसा फिर्ता आउँदैन, चकलेट, पाचक दिने भएकाले उनले त्यसको हिसाब नै गर्दैनन् ।

घिमिरेको दैनिक एक लिटर मात्रै दूध किन्दा मासिक १२० रुपियाँ त्यत्तिकै खर्च हुने गरेको छ । उनले भने, “दूधको मात्रै होइन, अरू सामान किन जाँदा पाँच रुपियाँसम्म फिर्ता दिनुपर्यो भने चकलेट नै दिन्छन् । घरमा खाने मान्छे छैनन् । त्यत्तिकै खेर जान्छ, पैसा भए त काम लाग्थ्यो नि !”

कीर्तिपुरमा घर बनाउँदै गरेका हरिहर पराजुलीको अनुभवमा खाद्यान्न किरानामा फिर्ता पाँच रुपियाँसम्मको चकलेट दिनु नौलो छैन । उनीहरूले चकलेट पनि बिक्री गर्नुपर्छ अचेल । बिजुली पसलले पनि पाँच, १० रुपियाँसम्म फिर्ता दिनुपर्यो भने चकलेट दिन्छन् । उनको थप भनाइ छ, “हिजोआज एक/दुई रुपियाँका सिक्का त पाइनै छोड्यो । १० रुपियाँसम्मको कुनै मूल्य नै छैन, त्यसैले अचेल त पाँच, १० रुपियाँ नोट जम्मा गर्न थालेको छु ।”

कलङ्की बस्ने विष्णुमाया देवकोटा तीन-चार वर्षअघि सम्म सामान किनेर फिर्ता आएका एक-दुई रुपियाँका सिक्का भुड्कोमा जम्मा गर्दा वर्षमा पाँच हजार रुपियाँसम्म हुन्थ्यो भन्दै अहिले त त्यस्तो पैसा देख्नै नपाएको बताउँछन् । त्यसले गर्दा पूजाआजामा चढाउन सिक्का नै पाइन छाडेको छ ।

भाटभटेनीमा चकलेट

साना पसलले मात्र होइन चेनमा सुपरमार्केट चलाउनेले पनि पाँच रुपियाँसम्म फिर्ता गर्नुपर्दा चकलेटको व्यापार गर्ने गरेका छन् । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोरबाट सामान खरिद गरी फर्किएका श्याम दुवालले घरमा चकलेट खाने कोही नभए पनि लिन बाध्य भएको बताए । उनले भाटभटेनी परिसरमा नै फेला परेका बच्चालाई चकलेट दिए । “त्यसरी दिइने चकलेटको गुणस्तर राम्रो नहुने हुँदा बालबच्चाले त्यति रुचाउँदैनन् पनि,” उनले बताए ।

व्यापारीको गुनासो बेग्लै

यता व्यापारीको पनि आफ्नै तर्क छ । “खुद्रा पैसा हुँदैन, के दिनु त ? सानो पैसामा चकलेट आउँछ, त्यही दिन्छौँ,” कीर्तिपुरका किराना व्यापारी विमल ढकालले बताए । कलङ्की चोकका औषधि पसल गर्ने किरण थापाले पाँच रुपियाँसम्म फिर्ता गर्नुपरे हजमोला क्यान्डी, मेन्टस, हल्सलगायतका औषधीय गुण भएका चकलेट दिने गरेको बताए । खुद्रा पैसा हुँदैन के गर्नु त ? उनले प्रश्न गर्दै भने, “लैजानेले पनि खुसी नै भएर लैजानुहुन्छ । अहिले एक÷दुई रुपियाँको त मूल्य नै छैन, माग्नेलाई दियो भने त फालेर हिँड्छन् । ”

सरकारी निकाय पनि उस्तै

सरकारी निकाय नेपाल साल्ट ट्रेडिङ लिमिटेडले पनि चिनीको मूल्य प्रतिकिलो ७७ रुपियाँ ५० पैसा तोकेको छ तर उपभोक्ताले एक किलो किन्दा ५० पैसा फिर्ता पाउँदैनन् । ७८ रुपियाँ नै तिनुपर्छ । यद्यपि साल्ट टे«डिङले न्यूनतम दुई किलोेको प्याकेट मात्र बिक्री गरेर १५५ रुपियाँमा मूल्य मिलान गरेको छ । मूल्य निर्धारण गर्दा फिर्ता गर्न नसक्ने पैसामा किन राखिन्छ, कसैले भन्दैन ।
सार्वजनिक यतायातमा अझ ठूलो समस्या छ । पाँच रुपियाँले निःशेष भाग जानेभन्दा कम वा बढी मूल्य निर्धारण गर्दा यात्रुलाई एक वा दुई रुपियाँ नछोड्ने तर फिर्ता दिनुपर्दा सहचालकले चानचुन छैन भन्दै फिर्ता नदिने घटनाले ठूलै विवाद सिर्जना गरिरहेको हुन्छ ।

नमागेको सामान दिनु अपराध

उपभोक्ता संरक्षण अधिकार ऐनले पैसा फिर्ता नभएको भन्दै व्यापारीले उपभोक्तालाई बाध्यात्मक रूपमा नमागेको सामान दिनेलाई अपराध मानेको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले खुद्रा पैसा नभएको बहानामा कुनै व्यापारीले उपभोक्तालाई चकलेट वा अन्य कुनै सामान जबर्जस्ती दिन्छ भने त्यो अपराध भएको दाबी गरे ।

अधिकारकर्मी तिम्लिसिनाका अनुसार उपभोग्य सामानको न्यूनतम तथा अधिकतम मूल्य निर्धारण गर्ने अधिकार वाणिज्य, आपूर्ति विभागलाई छ तर विभागले त्यसतर्फ ध्यान नदिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!