२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ११ माघ । गाईबस्तुको आहारा खोस्टा आकर्षक झोला बनाउन प्रयोग हुन थालेको छ । झोला बनेको मात्र होइन विदेशमा निकासी भएर विदेशी मुद्रा आर्जनको स्रोत पनि बन्न
थालेको छ ।

विदेशमा निर्यात गर्दाको अनुभव पनि रोचक छ । रिजनल ह्यान्डिक्राफ्टका संस्थापक तथा महिला उद्यमी महासङ्घका अध्यक्ष देविका बुढाथोकी तीन वर्षअघि मकैको खोस्टाले बुनेको ब्याग बोकेर चीन गएकी थिइन् । उक्त झोला आकर्षक लागेर उनले त्यहीँबाट निर्यातको अर्डर लिएर फर्किइन् । सानैदेखि सीपका काम गर्न रुचाउने अध्यक्ष बुढाथोकीले मकैको खोस्टाको उपयोग गरी हातैले कलात्मक ढङ्गले बुनेका नौलो सामग्री देखेर विदेशीसमेत आकर्षित भएका थिए । त्यसैअनुसार माग हुँदै गयो ।

स्थानीय कच्चा पदार्थबाट बनेका झोलाको हालको वार्षिक माग १० लाख रहेको उहाँले बताउनुभयो तर करिब एक लाख मात्र निर्यात गर्न सकेको उनले बताइन् । गत वर्ष रिजनल ह्यान्डिक्राफ्टले एक करोड ४६ लाख रुपियाँको निर्यात गरेको थियो । झोला बन्न थालेको तीन वर्षमै चीन र अस्ट्रेलियालगायतका देशबाट ठूलो परिमाणमा माग भइरहेको तर मागेजति दिन नसकेको
संस्थापक बुढाथोकीले जानकारी दिइन् ।

माग पूरा गर्न नसक्नुको प्रमुख कारण भने झोला बनाउने जनशक्तिकै अभाव रहेको छ । हातैले बनाउनुपर्ने भएकाले उत्पादनका लागि समय पनि लाग्ने गरेको छ । त्यस्तै विदेश निर्यात गर्नुपर्ने सामानको गुणस्तर कायम गर्नुपर्दा पनि मागेजति दिन नसकिएको उनको भनाइ छ ।

खोस्टाको झोला बनाउन खासै दक्ष जनशक्ति नचाहिने भए पनि काममा लाग्ने कमै रहेको बताइएको छ । रोजगारीका लागि धेरै नेपाली महिला विदेशमा पुगेर सङ्घर्ष गरिरहेको तर घरमै बसेर दैनिक १८ सयसम्म कमाउन सकिने सीपको काममा ध्यान नपुगेको उनको विचार छ ।

अध्यक्ष बुढाथोकीका अनुसार ब्याग बनाउनेले प्रतिब्याग छ सय रुपियाँ पाउँछन् । दक्ष र लगनशील महिलाले प्रतिदिन तीनवटा बनाउन सक्छन् तर मसिनो गरी मिहिनेत गर्नुपर्ने भएकाले सीपको काममा भन्दा ज्यालादारी वा जागिरमै रमाउने प्रवृत्ति बढी पाइएको उनको अनुभव छ ।

महासङ्घका अध्यक्ष बुढाथोकी तराई क्षेत्रमा थारू समुदायले बुन्ने गरेको ढकी, डालोको बनावटमा नयाँ डिजाइन भर्दै झोलामा परिणत गरेको प्रयास सफल भएको बताउँछिन् । नेपालका पहाडी तथा तराई क्षेत्रमा खेर गइरहेका गाई, भैँसीलाई खुवाउने मकैको खोस्टा, पराल, सिक्की, थाकल, पटेर र काँसलाई सुकाएर तातो पानीमा डुबाएपछि झोलालगायतका सामग्रीका लागि कच्चा पदार्थ तयार हुन्छ । यी सामग्री खेतबारी, खोला किनार, वनजङ्गल, खेतबारीमै पाइन्छ ।

त्यसरी पाइने कच्चा पदार्थबाट सामान्य सीपमा नै आकर्षक सामग्री बन्दछन् । बुढाथोकीले पाँच जना महिलाबाट सुरु गरेको झोला बनाउने पेसामा ३५ जिल्लाका एक हजार चार सय जना सहभागी छन् । रिजनल ह्यान्डिक्राफ्टले सीप विकास प्रतिष्ठान, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायतको सहयोगमा तालिम सञ्चालन गरी झोलालगायत अन्य हस्तकलाका सामग्री बनाउने जनशक्ति तयार गरिरहेको छ । १५ दिनदेखि एक महिनासम्मको तालिमपछि उक्त सामग्री बनाएर स्वरोजगार हुन सकिन्छ । साथै २५ जनाको समूह तयारी पारी त्यस्तो सीप सिकाउन माग भएको ठाउँमा सो संस्थाले प्रशिक्षकहरू उपलब्ध गराउँदै आएको छ ।

रिजनल ह्यान्डिक्राफ्टले स्थानीय कच्चा पदार्थको प्रयोग गरी झोला, चकटी, पिर्का, ब्याग, पर्स, गलैँचा, ह्याट, पेन होल्डर, खुत्रुकेलगायतका सामग्री बनाउन तालिम दिनुका साथै बनेका सामग्रीको बजारीकरणमा सहयोग गर्दै आएको छ । त्यस्ता सामग्री निर्माणका लागि तालिम दिनसक्ने ३५ जना दक्ष प्रशिक्षक तयार भइसकेको उनले बताइन् । नेपाली हस्तकलाका सामग्रीको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेका कारण सरकारले शिक्षालाई सीपसँग जोड्दै उद्यमी बन्न प्रेरित गर्ने नीति लिने हो भने स्वदेशमै प्रशस्त रोजगारी सिर्जना हुने बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!