२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विनोद मेहता
विराटनगर, २२ फागुन । सुनसरीको देवानगञ्ज–१ का तेजनारायण मेहताको घरमा विवाहको माहोल थियो । २१ गते धुमधाम विवाह गर्ने तयारीमा रहेका मेहताको घरमा बिहेको अघिल्लो दिन नसोचेको घटना घट्यो ।

बिहे घरको उत्सव छोडेर विद्यालय जाँदै गरेका दुई भान्जालाई ट्याक्टरले ठक्कर दियो । २० गते बिहान स्थानीय पशुपति शिक्षा मन्दिरमा अध्ययनरत बालकद्वयलाई तीव्र गतिमा सोही दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो ।

तीव्र गतिको को २ त ३९२४ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय हंसराज मेहताका छोरा १२ वर्षीय अमितकुमार मेहता र शिवशंकर मेहताका छोरा सत्यमकुमार मेहता गम्भीर घाइते भए । ट्याक्टर घुम्तीमा अनियन्त्रित भइ स्कुल जाँदै गरेका दाजु-भाइ अमित र सत्यमलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय देवानगञ्जले जानकारी दिएको छ ।

अजय र सत्यम तेजनारायणका भान्जाहरू हुन् । तेजनारायणका दुइ दिदीका छोरालाई ट्याक्टरले ठक्कर दिएपछि बिहे घरमा सन्नाटा छाएको हो । घाइते बालकद्वयको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार जारी छ । गम्भीर घाइते दुवै बालक आइसियुमा उपचाररत रहेका छन् । उनीहरू दुवैलाई ट्याक्टरको ठक्करपछि गोल्डेन अस्पताल भर्ना गरिएको थियो । तर, गोल्डेनले दुवैलाई न्यूरोमा रिफर गरिदिएको थियो ।

उपचारमा तीन लाख खर्च

पशुपति विद्या मन्दिरका शिक्षक तथा घाइते बालकका अर्का मामा रामकुमार मेहताका अनुसार दुवै बालकलाई उपचार गर्दा तीन लाखसम्म खर्च भइसकेको छ । घाइतेमध्ये अमितको टाउकोमा चोट लागेको छ । ‘टाउकोमा ब्लड जमेका कारण अमितको अपरेसन गर्नुपरेको थियो’, रामकुमारले भने, ‘सत्यमको घुँडाको जोर्नी नै बाहिर निस्केकोले शल्यक्रिया नै गरेर उपचार गर्नुपरेको छ । हालसम्म जम्मा तीन लाख खर्च भइसकेको छ । अझै उपचार भइरहेको छ ।’

ठक्करपछि ट्याक्टर चालक अजयकुमार मेहता फरार रहेका छन् । करिब २७ वर्षका उनी तत्कालै ट्याक्टरबाट हामफालेर भागेको बताइएको छ । उनको लाइसेन्स पनि छैन । प्रहरीले पनि फरार उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्याक्टर भने नियन्त्रणमा लिएको छ ।

ट्याक्टर धनीले उपचार खर्च ब्यहोर्ने

देवानगञ्ज–७ का राजो मेहताका छोरा अजय फरार रहेपनि उनले पीडित परिवारसँग खर्च ब्यहोर्ने प्रण गरेका छन् । उनले विदेशमा रहेका घाइते बालकका एक मामासँगको फोन सम्पर्कमा खर्च सबै ब्यहोर्ने बताएको रामकुमारले जानकारी दिए ।

उपचारमा लागेको खर्च दिने बताएपछि आफूहरूले प्रहरीमा निवेदनसमेत नदिएको रामकुमारको भनाइ छ । ‘अजयले मेरो भाइलाई उपचार खर्च दिने बताएको रहेछ । यसैले हामीले अहिलेसम्म प्रहरीमा निवेदन दिएका छैनौं’, उनले भने ।

दुर्घटनापछि बिहे घरमा सन्नाटा

दुवै भान्जा दुर्घटनामा परेपछि बिहेको घरमा सन्नाटा छायो । बिहेको उत्सव पनि हुन पाएन । शुक्रबार राति तेजनारायणको बिहे सकियो । तर, बिहे नैै खल्लो भएको रामकुमार बताउँछन् । ‘बिहेमा जान पाइएन । अस्पतालमा बस्नुपरेको थियो । त्यसबाहेक बिहेमा धेरैको मुहारमा मुस्कान थिएन,’ उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!