२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३१ वैशाख । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं ६ का युवाहरुले वडाभित्र रहेका कोरोना संक्रमितको घरमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । शुक्रबार वडाध्यक्ष देवनारायण मेहता तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समन्वयमा युवाहरुको टिमले वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई मास्क, पन्जा, साबुन र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

हाल देवानगञ्जको वडा नं ६ का चार घरभित्र १७ जना संक्रमित होम आइसोलेसनमा छन् । वडाध्यक्ष, तीन स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी तथा अन्य तीन युवा गरी आठ जनाको टोलीले उनीहरूलाइ स्वास्थ्य सामग्री वितरण गरेको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भेटेर १७ जना संक्रमितलाई स्वास्थ्यकर्मीले परामर्शसमेत दिएका थिए ।

पिपिईसमेत लगाएर खटिएका स्वास्थ्यकर्मीले अक्सिमिटरको सहायताले अक्सिजन लेबल जाँच्ने तथा संक्रमितलाई घरपरिवारका अन्य सदस्यमा संक्रमण हुनबाट जोगाउन सतर्कताका उपायहरू सुझाएका थिए । वडा नं ६ का युवा भगवान मण्डलले आफूहरूले स्वास्थ्य सामग्री संक्रमित र संक्रमितको परिवारलाई उपलब्ध गराएको जानकारी दिए । स्वास्थ्य मापदण्ड पालना गरेर सानो टिममा संक्रमितको घरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरिएको र यो अभियान प्रत्येक सातामा निरन्तर रूपमा हुने बताए ।

‘होम आइसोलेसनमा रहेका संक्रमितको अवस्था कस्तो छ र उहाँहरुलाई स्वास्थ्य सामग्री कत्तिको उपलब्ध छ भन्ने बुझ्नका लागि पनि वडाध्यक्ष, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहितको टिम लिएर हामी संक्रमितको घर–घरमा पुगेका हौँ’, उनले भने, ‘यो अभियानलाई हामी निरन्तरा दिनेछौँ । यसले गर्दा उहाँहरुको मनोबल पनि बढ्छ ।’

यता, वडाध्यक्ष मेहताले युवाहरुको यो कामले जनप्रतिनिधिलाई पनि झकझगाएको बताउँदै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिएमा आफ्नो पनि साथ र सहयोग रहने बताए । उनले भने, ‘यो महामारीमा यसरी नै एक–अर्काको सहयोगमा उत्रिँदा मानवता जीवित रहन्छ । उहाँहरुले थालनी गर्नु भएको छ । यसले निरन्तरता पाओस्, हाम्रो पनि साथ र सहयोग रहनेछ ।’

यसैगरी, वडा नं ६ का एक पुरुष संक्रमितले युवाहरुको यो अभियानले कोरोना जित्ने थप हौसला प्रदान गरेको बताए । गाउँपालिका तथा प्रतिनिधिले यस्तो काममा ढिलाइ गर्न नहुने बताउँदै उनले विशेषगरी ग्रामीण भेगमा रहेका आफूजस्ता संक्रमितले चिकित्सकको आवश्यक परामर्श नपाउँदा जोखिम बढेको सुनाए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष मेहताका साथै स्वास्थ्यकर्मीहरू कुन्दन मण्डल, रामखेलन मेहता र राजकुमार मेहतासँग युवाले समन्वय गरेका थिए । युवाहरु भगवान मण्डल, चन्दन यादव र चन्दन मेहताले यो अभियानलाई निरन्तरता दिने बताउँदै भावी दिनमा गाउँपालिका पनि यसरी नै सहयोगमा उत्रिँदा कोरोनाविरुद्धको लडाइँ सहज हुने बताए । यस्तै उनीहरुले यसरी नै आ-आफ्नो क्षेत्रबाट कोरोनाविरुद्धको लडाइमा उभिन र यसमा सहयोगी हातहरुले पनि यो अभियानमा सहयोग गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!