दुहवी । सुनसरी क्षेत्र नं. ३ बाट नेकपा एमालेको प्रभावशाली नेतृ भगबती चौधरीले उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय दुहवीमा चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी समग्र जनताको आर्थिक विकासका लागि भएको बताए । उनले सुनसरी क्षेत्र नं. ३ मा विकास र समृद्धीको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको बताए ।
चौधरीले भने मेरो उम्मेदवारी यहाँका जनताको आर्थिक समृद्धि, विकास र जनजिविकाका सवालमा हो । यो क्षेत्रमा विकास र समृद्धिको ढोका खोल्न हो ।’ चौधरीले नेकपा एमालेको टीमले जित हासिल गरे ३० वर्षमा हुन नसकेको विकासको काम ५ वर्षमा गरेर देखाउने घोषणा गरे ।
विगतका दुईवटा निर्वाचन आफुले जितेर पनि हारेको स्मरण गर्दै यसपल्ट सुनसरीका ८० प्रतिशत मतदाता परिवर्तनको पक्षमा उभिएकाले आफ्नो जित सुनिश्चित भएको पनि उनले दावी गरेको छ । नेतृ चौधरीले जनादेशको राजनीति स्थापित गर्नकै लागि भएपनि नेकपा एमालेलाई मत दिनुपर्ने बताए । स्थायी राजनीति, योजनाबद्ध विकास निर्माण, निर्यातमुखी कृषि, गाउँगाउँमा प्राविधिक शिक्षा र रोजगारी भए देश निर्माण गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।
नेतृ चौधरी यसअघि २०७० सालको संविधान सभा निर्वाचन र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत प्रतिष्पर्धी थियो । उक्त २ वटै निर्वाचनमा विजयकुमार गच्छदारसँग कडा प्रतिष्पर्धा गरेकी चौधरी योपल्ट सुनसरी ३ मा लालझण्डा फरहराउने लक्ष्यका साथ चुनाबी मैदानमा उत्रेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेले बर्जु र गढी गाउँपालिकामा ऐतिहासिक जित हासिल गरेको छ । इटहरी उपमहानगरपालिकामा उपमेयर जितेको छ । दुहवी नगरपालिकामा पनि विगतका निर्वाचनमा भन्दा नेकपा एमालेले आफ्नो जनमत बढाएकोले मंसिर ४ गते हुने निर्वाचनमा चौधरी र प्रदेशका दुई उम्मेदवारले जित हासिल गर्ने दावी छ ।




