२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कञ्चनपुर, १३ कात्तिक । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् ।

उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उहाँले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पुर्‍याएर विक्री गरेका छन् ।

धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेकाे र माछापालनबाट सोचेभन्दा बढी नै आम्दानी भएको उनकाे भनाइ छ । धानको उत्पादनसमेत बढेपछि दोहरो आम्दानी हात परेको उनले बताए ।

उनले भने, “धान खेतमा माछापालन सुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन । माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छु ।”

धान काटेर थन्क्याई सकेका उहाँले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन् ।

गतका वर्षमा ५-६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ । धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पुर्‍याउने उनको योजना छ ।

खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उहाँको भनाइ छ ।

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ । यसको बजार मूल्य रु छ लाख रहेको छ,” उनले भने ।

माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन । माछापालनसँगै उहाँले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँससमेत पालेका छन् ।

फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन् । फार्म सञ्चालनका लागि केही रकम आफूसँगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!