२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, २७ वैशाख । सुनसरीको देवानगञ्जमा किस्ता नतिरेको भन्दै वृद्धा महिलामाथि निर्घात कुटपिट भएकाे छ । देवानगञ्ज  गाउँपालिका-६ की फूलकुमारी महतोमाथि फरवार्ड लघुवित्त संस्थाका २ जना कर्मचारीहरुले कुटपिट गरेका हुन् ।

सोमबार घरमा एक्लै बसेका बेला फरवार्ड लघुवित्त संस्थाको ऋण चुक्ता टोली आएर आफूमाथि कुटपिट गरेको फूलकुमारीले बताइन् । ‘हाम्रो वडाका सम्पूर्ण ऋणी सदस्यको भेला हुने दिन थियो । तर कोरोनाका कारण कोही भेला भएनन् । यसैले घरमा बसेकी थिएँ । मैले ऋण लिए पनि कोरोनाका कारण आउने बाटो सबै बन्द भएकाेले तिर्न सकेको थिइनँ । यस्तैमा २ जना कर्मचारी घरमै आएर मलाइ कुटपिट गरे’, फूलकुमारीले ग्रामीण खबरसँग भनिन् ।

उक्त संस्थाका कर्मचारी भागेश्वर माझी र मिथलेश खवासले दिउँसो तीन बजे घरमै आएर आफूमाथि कुटपिट गरेको फूलकुमारीको भनाइ छ ।  दोस्रो लहरको बढ्दो कोरोना भाइरसका कारण सुनसरी जिल्लाभरि जारी भएकाे निषेधाज्ञाका कारण कमाउने बाटो सबै बन्द भएकाे उल्लेख गर्दै उनले यस्तो कठिन परिस्थतिमा पनि लघुबित्तले आफ्नो मर्म नबुझेको उनले दुखेसो गरिन् ।

जिल्ला प्रशासन सुनसरीले निषेधाज्ञाको समयमा किस्ता नउठाउन र आफ्नो मानवता प्रदर्शन गर्न भन्दै लघुबित्त तथा सहकारीलाइ आग्रह गरेको छ । तर फरवार्ड लघुबित्तका कर्मचारी भने ऋणी कुट्न पुगका हुन् । उनीहरुले मादक पदार्थ सेवन गरी आफूमाथि हातपात गरेको फूलकुमारीको आरोप छ ।

‘उहाँहरुले आजको किस्ता तिर् भन्दै हप्काउनुभो,’ उनले भनिन्, ‘यस्ताे महामारीमा किस्ता तिर्न सकेको छैन, विस्तारै तिर्छु, हात-मुख जोर्न पनि समस्या भइरहेको छ भन्दा घरमा कोही नभएको माैका छोपेर सडकमा घिसार्दै लातै-लातले ममाथि कुटपिट गरे ।’ फूलकुमारीको खुट्टामा चोट लागेको थियो । घाइते उनको देवानगञ्ज-२ स्थित माँ काली पोलिक्लिनिकमा उपचार भएपछि घर फर्किएकी छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले राष्ट्र बैङ्कको सूचनालाई आधार मानी लघुबित्त तथा सहकारीलाई कोरोना महामारीको यो परिस्थितिमा किस्ता नउठाउन आग्रह गरिएको प्रजिअ उमेशकुमार ढकालले भने । ढकालले त्यस्तो गतिविधि गर्नेलाई कारवाही गर्ने बताए । ‘राष्ट्र बैङ्कको सूचनालाई आधार मानेर हामीले निषेधाज्ञाको समयमा किस्ता नउठाउन र आफ्नो मानवता प्रदर्शन गर्न सबै लघुबित्त र सहकारीलाई आग्रह गरेका थियौँ । हाम्रो अनुरोधविपरीत जानेलाई कारवाही हुन्छ,’ उनले ग्रामीण खबरसँग भने ।

स्रोतका अनुसार लघुबित्तले उपचार खर्च बेहोर्दै पीडित पक्षसँग सहमति गरिसकेकाे छ । २५ हजार उपचार खर्चवापत दिएको र २ वर्षको किस्ता चार वर्षमा तिर्ने शर्तमा पीडित पक्ष लघुबित्तसँग सहमति गर्न राजी भएको बताइएको छ ।

यता लघुबित्तका सुनसरी शाखा प्रमुख केदारप्रसाद उरावले भने घटनामा मिथ्या आरोप लगाइएकाे बताएका छन् । ‘फूलकुमारी महतोले यस संस्थाबाट कर्जा लिनुभएको छ । उहाँसँग कर्जाको किस्ता रकम भुक्तानी लिन जाँदा दुई कर्मचारीले उहाँसँग कुनैपनि किसिमका अभद्र व्यवहार गरेका छैननन् । उल्टै ऋणि उहाँले हाम्रा कर्मचारीमाथि अभद्र व्यवहार गर्नुभएको छ । उहाँले पहिलेदेखि नै संस्थाबाट कर्जा लिएर कर्जाको साँवा व्याज समयमा नतिर्ने, संस्थाका कर्मचारीहरु समूहमा गएर किस्ता संकलन गर्दा विभिन्न बहानाबाजी गर्ने गर्नुभएको थियो,’ उनले भने ।

उनका अनुसार पटकपटक समयमा कर्जा तिर्न ताकेता गर्दा फिल्डमा खटिएका कर्मचारीलाई तथानाम लागिगलौज समेत गर्ने गरेपछि महतोलाई संस्थाले खराब ऋणीको रुपमा राखेको थियो । यस्तै उनले फिल्डमा खटिएका कर्मचारीले मादक पदार्थ खाएको र ऋणी महिलामाथि कुटपिट भएको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताइसकेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!