२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १३ कात्तिक । फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट लागु हुने यो नयाँ प्रतिबन्धअन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् ।

रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन् । अप्रिलयता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो ।

माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए । यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन् ।

युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ। थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ । ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ। यद्यपि, एकजना मन्त्रीले भने सामाजिक अन्तर्क्रियालाई रोक्न सरकार विफल भएको भन्दै गुनासो गरेका छन् ।

बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोँले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक” लगाउनुपर्ने बताएका छन् । उनले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको बताएका छन् ।

मार्चमा लगाइएको यसअघिको लकडाउनमा जस्तै यसपटक पनि मानिसहरूले घरबाट निस्किन जायज कारण खुलाएर फारम भर्नुपर्नेछ। सामाजिक भेलाहरूमाथि भने प्रतिबन्ध कायमै छ । “वसन्त ऋतुमा जस्तै घरबाट काम गर्न बाहिर जान पाइनेछ, उपचारका लागि डाक्टर कहाँ जान पाइनेछ, आफन्तलाई सहायताका लागि जान पाइनेछ र घर नजिकै हिड्न जान पाइन्छ,” माक्रोँले भने ।

तर उनले सार्वजनिक सेवा र फ्याक्ट्रीहरू भने खुला नै रहने र अर्थतन्त्र पनि रोकिन नहुने बताएका हुन् । लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र-पन्ध्र दिनमा पुन: निर्णय गरिनेछ ।

राष्ट्रपति माक्रोँले क्रिसमससम्म परिवारका सदस्यहरूले एकअर्कालाई भेट्न सक्ने आशा व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!