
काठमाडौं-विश्व बैंकले ग्रामीण बजार सम्बन्ध सुदृढीकरण र उद्यमशीलतालाई बढावा दिँदै रोजगारी प्रवर्धनमार्फत कोभिड-१९ पछिको पुनर्बहालीमा सहयोग पुर्याउने उद्देश्यसहित कृषि क्षेत्रको सशक्तीकरणका लागि करिब ९ अर्ब ४४ करोड रूपैयाँ (८ करोड अमेरिकी डलर)को परियोजना स्वीकृत गरेको छ ।
विश्व बैंकले कोरोना महामारीको पुनरुत्थान तथा नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका लागि ८ कराेड डलर सहयोग गर्ने भएको हो ।
उक्त सहयोग कोभिडले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न पनि सहयोगी हुनेछ। उक्त परियाेजना प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लक्षित हुनेछ। हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ वटा परियाेजना सञ्चालित छन् । जसमा ३ अर्ब डलरको सहयोग प्राप्त भएको छ।
विश्व बैंकले दिएको ८ कराेड डलर अर्थात् करिब ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको रकम ६ वटा प्रदेशमा खर्च हुनेछ। विश्व बैंकले सञ्चालन गरेको परियाेजना नेपाल सरकारका लागि एउटा अवसर भएको तथा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि भएको विश्व बैंकले जनाएको छ । यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकको भनाइ छ ।
‘यो परियोजना सरकार र निजी क्षेत्रका लागि कृषि क्षेत्रमा ‘नेपाल’ ब्रान्ड बनाउने र देशको विश्वव्यापी पहिचानको लाभ प्राप्त गर्ने अवसर हो, ‘ नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंकका निर्देशक फरिस हदद-जर्भोसले भने, ‘ यसका लागि परियोजनाले कफी, चिया, फलफूल र औषधी उत्पादनहरू जस्ता क्षेत्रलाई उत्प्रेरित गर्न, तिनको वृद्धिमा मद्दत गर्न र कोभिड-१९ पछिको पुनर्बहालीमा सहयोग गर्न सक्छ ।’