
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वर्षिय टुमा सिंह यादवलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।
सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाई राखेको पेस्तोल फेला परेपछि यादवलाई नियन्त्रणमा लिएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिदै आएको भन्ने प्राप्त सुचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।
हतियार समेत रहेको भन्ने सूचना अनुरुप खोजतलासको क्रममा चर्पीको सेफ्टी टंकी छेउमा प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा मेड इन इण्डिया लेखेको पेस्तोल फेला परेको थापाले जानकारी दिनुभयो ।
पेस्तोलमा लोड गरिएको म्याग्जीन र २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ परेका यादव विरुद्ध हात हतियार खरखजाना सम्वन्धि मुद्दामा कार्वाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।