
मकवानपुर, १३ माघ : मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाको आयोजनामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथानेबाली कृषि उपजको प्रदर्शनी तथा बिक्री स्टल राखिएको छ ।
कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा विभिन्न सहकारी, कृषक समूह र कृषकहरूको समन्वयमा स्थानीयस्तरमा उत्पादित रैथाने बाली तथा वस्तुहरूको संरक्षण, प्रवर्द्वन र बजारीकरण गर्ने उद्देश्यसहित मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाले स्टल सञ्चालनमा ल्याएको हो । बालीहरूको महत्त्वबारे कृषकहरूलाई जानकारी गराउने उद्देश्यले स्टल राखिएको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताएका छन् ।
प्रदर्शनीमा विभिन्न उपजहरू कोदो, फापर, चिनो, कागुनो, लट्टे, सिलाम, आलस, सिमी, स्थानीय मकै, मस्याङ्ग, दुधे पिडालु, अदुवा, बेसार, उखुका साथै कृषि कार्यमा प्रयोग हुने औजार तथा सामग्रीहरू जाँतो, हलो, कुटो, कोदालो, नाङ्गलो, डोको, डालो, थाकलको मान्द्रो, बाँसको मान्द्रो, कुरुवालगायत राखिएको छ । साथै कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, बेसारको धुलो, खलेको कोदो, कोदोको नमकिन, मस्याङ्ग लगायतका वस्तुहरू बिक्रीमा राखिएको छ ।
गाउॅंपालिका क्षेत्रमा उत्पादित तथा संरक्षित स्थानीय रैथाने जातका बाली उपज प्रदर्शनी स्टलमा विभिन्न थरिका रैथाने बालीहरू प्रदर्शनका साथै बिक्रीका लागि राखिनु सकारात्मक पक्ष भएको अवलोकनकर्ता दिल श्रेष्ठले बताएका छन् । उक्त अवसरमा बालीहरूको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्नुपर्ने विषय सम्बन्धमा छलफल गरिएको श्रेष्ठले बताएका छन् ।
प्रदर्शनीमा विभिन्न उपजहरू कोदो, फापर, चिनो, कागुनो, लट्टे, सिलाम, आलस, सिमी, स्थानीय मकै, मस्याङ्ग, दुधे पिडालु, अदुवा, बेसार, उखुका साथै कृषि कार्यमा प्रयोग हुने औजार तथा सामग्रीहरू जाँतो, हलो, कुटो, कोदालो, नाङ्गलो, डोको, डालो, थाकलको मान्द्रो, बाँसको मान्द्रो, कुरुवालगायत राखिएको छ । साथै कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, बेसारको धुलो, खलेको कोदो, कोदोको नमकिन, मस्याङ्ग लगायतका वस्तुहरू बिक्रीमा राखिएको छ ।
पहिलो दिन प्रदर्शनीमा अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिति रहेकोमा उपजहरूको बारेमा जानकारी लिने र खरिद गर्नेहरूको सकारात्मक प्रतिक्रियाहरू प्राप्त भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।