
विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा चार अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरमा थप ६ जना र धरानमा १ जना गरि सातजनाको पछिल्लो २४ घण्टाको अवधीमा मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा एकजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजनाको मृत्यु भएको हो ।
नोवेल मेडिकल कलेजमा उर्लाबारी– १ की ६६ वषीय महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका– १० की ६९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।
प्रवन्धक दाहालका अनुसार १२ कातिकमा भर्ना भएका विर्तामोडका वृद्धलाई सोही दिन कोरोना पोजेटिभ देखिएको हो । मोनियाको समस्या देखिएका वृद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको हो ।
सुन्दरहरैचा नगरपालिका – १० की ६९ वर्षीय महिलालाई १० गते कोरोना पोजेटिभ देखिएको थियो । उनी सोही दिन नोबेलमा भर्ना भएकी थिइन् । उनको बिहान करिब ३ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।
नोबेलमै उर्लाबारी नगरपालिका– १ की ६६ वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा सोहि दिन कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा विहान करिब ५ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।
त्यस्तै सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नु अघि नै मृत्यु भएको थियो ।
विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान ८ः३० बजे मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।
म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान उदयपुरकी महिलाको मृत्युु भएको छ । शुक्रबार साझ अस्पताल भर्ना भएकी ४२ बर्षीय महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिनुभयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा गौरिगञ्जका ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता आशिस श्रेष्ठद्वारा प्रेसित सूचनामा उल्लेख गरिएको छ ।