२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम, १६ कात्तिक । सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनकै कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएका छन् ।

गत बुधबार साहलाई उनका कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडि कुटपिट गरी दिसा खुवाउने प्रयास गरेका थिए । छोराले घाँटी थिचेर कुटपिट गर्दा आमा गम्भीर घाइते भएकी थिइन् ।

घाइते उनलाई तत्कालै उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।

शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई छोरा छुट्टिएर गएपछि सुदामादेवी घरमा एक्लै बस्ने गरेकी थिइन् । कान्छा छोरा रामऔतारकी बुहारी मनिषाको खुट्टामा भएको घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै आएको स्थानीयले बताए । त्यसै कारण आमालाई कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

दुई दाजुभाइकै मिलेमतोमा आमालाई दिसा खुवाउने तयारी भइरहेको बेला वडा अध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेकाले जघन्य अपराध हुनबाट बचेको छोरी जानकीको भनाइ छ ।

छोरी जानकीले दिएको जानकारी अनुसार प्लास्टिकमा घोलेर ल्याइएको दिसा खुवाउने तयारी हुँदै गर्दा प्रहरी पुगेको थियो । आमालाई तत्कालै प्रहरीले उपचारको लागि पठाएको हो उनले भनिन् ।

रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!