२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२८ फागुन : नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गर्नुभयो । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको संग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले संग्रहालय निर्माण गरेर महानगरलाई हस्तान्तरण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिनुभयो ।
मेयर कोइरालाले विराटनगरको दक्षिणी क्षेत्रको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले संग्रहालयको संरक्षणका लागि स्थानीयवासी पनि लाग्नुपर्नेमा जोड दिनुभयो । कोइरालाले दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष विराट राजाको दरबार क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी गराउनुभयो । उहाँले सो बजेटले घेराबारालगायतका संरचना निर्माण गरिने बताउनुभयो ।
नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा एक कठ्ठा जग्गामा वि.सं. २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरेको थियो ।


सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्राहरु राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ । पाँच पाण्डव र उनीहरुको श्रीमती द्रोपति गुप्तबासको दौरान नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ रहेको छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!