
तनहुँ, १६ कात्तिक । धान काटेर बाँझो रहने खेतमा तरकारी उत्पादन गराउने उद्देश्यले शुक्लागण्डकी नगरपालिका-८ का कृषकहरुलाई आलुको बीउ वितरण गरिएको छ । यहाँका ६ सय ६७ कृषकलाई ५ देखि ६ सय किलोसम्म आवश्यकताको आधारमा बीऊ प्रदान गरिएको वडा न ८ ले जनाएको छ ।
शाखाले राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत रहेर ३२ हजार किलो आलुको बीउ वितरण गरेको थियो । शाखाका कृषि प्राविधिक भरत जैसीले निलो आलु ११ हजार ५ सय किलो, जनदेव (रातो आलु) १८ हजार ५ सय किलो र पि.भि.एस आलु २ हजार २ सय दाना वितरण भएका जनाए ।
उनले वडामा ४ लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको बताए ।
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको आलुको बीउबाट हुने जम्मा उत्पादन वडामा नै खपत हुने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । उनले वडामा खपत नभएको खण्डमा वडाले बजार ब्यवस्थापन गर्ने जनाउँदै वडाका कोल्डस्टोरमा राख्नका लागि समेत ब्यवस्था गरिदिने बताए ।