
यूनिषा शर्मा
विराटनगर ,८ बैशाख : रानी विराटनगर इटहरी व्यापारिक मार्ग विस्तार आयोजनाको ठेकेदार कम्पनीको गाडी इटहरी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । भारत र चीन जोड्ने ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा भएको भन्दै गाडी नियन्त्रणमा लिएको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ ।
यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम दिएको छ ।
विराटनगर–धरान सडक खण्ड अन्तर्गतको अब निर्माण बाँकी हुन तरहरादेखि धरानको सेउतीसम्म बाँकी छ। हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण सुस्त हुँदा इटहरी उपमहागनरपालिको ध्यानाकर्षण गराउँदा पनि चाँसो नदिएपछि मेयर हेमकर्ण पौडेल नेतृत्व टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
मेयर पौडेलका अनुसार छ लेन सडक विस्तार आयोजनाका प्रमुख र ठेकेदार कम्पनीलाईं पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा अब तीन दिन भित्र लिखित प्रतिबद्दता नआए थप प्रक्रिया अगाडि बढाइनेछ ।
‘संघीय सरकार माताहातको काम भइरहेको हो । तर, इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारले तर्फबाट हदैसम्म लचकता अप्नाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि अब ठेकेदार कम्पनीलाईं लिखित प्रतिबद्दता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने ।