
तनहुँ, १२ बैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवार भन्दा बढी मत ल्याएका छन् । अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएका हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो ।
रास्वपाले चुनावी प्रचारप्रसारमा वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । वाग्ले आफैं पनि सांसदमा विजयी भए राजनीति संग्ल्याउने र अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै आएका थिए ।