२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ वैशाख १३, प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ र चितवन-२ मा सानदार जित हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको बारा-२ मा भने जमानत जफत भएको छ । बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका पूर्वडीआईजी रमेश खरेललाई उठाएको थियो ।

बारा-२ का ३४ उम्मेदवारमध्ये खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । बारा-२ मा कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा ६९ हजार २२ मत खसेको थियो । त्यसमध्ये ८३० मत बदर भई ६८ हजार १ सय ९२ मत सदर भएको थियो । यस हिसाबले जमानत जोगाउन बारा-२ का उम्मेदवारले कम्तीमा कुल सदर मतको १० प्रतिशत अर्थात ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्थ्यो । रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८ सय २९ मत ल्याए ।

बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याए ।

यी तीनबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको हो । यसअघि मंसिर ४ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर ७ हजार ६ सय ९८ मत ल्याएका अरुणकुमारी ज्ञवालीको पनि जमानत जफत भएको छ । यसपटक प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका उनले २ हजार ७ सय ३८ मत प्राप्त गरे । बारा-२ मा राप्रपाका उम्मेदवार सोनालाल प्रसाद साह तेली र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले क्रमश: ११९ र १०९ मत ल्याए । अन्य २७ उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७१ मा प्रत्यक्षतर्फ सदर मतको १० प्रतिशतभन्दा कम पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्रत्यक्षतर्फका उम्मेदवारले दस हजार रुपैयाँ धरौटी राखेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!