२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताउनुभएको छ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उहाँले बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीसहित एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिनुभएको हो। आफू एमालेमा फर्किन अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुपर्ने शर्त उहाँको छ।

विगतमा आफूलाई रोक्नकै लागि ७० वर्षे उमेरहदको प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ। उहाँले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो। एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताउनुभयो। उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनुभयो। उहाँले केही दिन भित्र पार्टी सदस्यता नवीकरण गर्ने बताउनुभयो। गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको प्रष्ट पार्नुभएको छ।

उहाँले भन्नुभयो, ‘यदि तपाईं आउनुपर्‍यो भन्नुभयो भने म र मसँग रहेका  साथीहरु लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं। यही अवस्थामा जान्छौं। अरु केही पर्दैन अब। उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनुभएको हो। मैले त्यसबेला मैले ७० वर्ष सबैको निम्ति आउँछ भनेको थिएँ। मेरो निम्ति मात्रै आउन लागेको होइन। राख्नुहुन्छ भने राख्नुस् भन्ने मेरो प्रतिक्रिया थियो। मसहित उपस्थित भएको बैठकबाट यो प्रस्ताव उहाँहरुले पारित गर्नुभएको थियो। अब ४÷५ वर्षमा ७० वर्ष पुग्ने नेताहरु १०÷१२ जना छन्। त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन्। महासचिव पनि बन्न पाउँछन्। हटेन भने एउटा बन्छ। यसरी अन्तिममा गएर अनुभवी नेताहरु त्यहाँ समाप्त हुन्छन्। र, अनुभव नभएको व्यक्तिहरु माथि आउँछन्।’’

यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनुभयो। ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको समेत बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!