२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १७ कात्तिक । वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ ।

त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ ।  “मेरो विचारमा यसको सम्भावना निकै उत्साहप्रद छ,” सो कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले भने ।

“तत्काल नतिजा आउने भएपछि परम्परागत अस्पतालबाहिरको वातावरणमा तपाईँले यसका उपयोगिता देख्न सक्नुहुनेछ । उड्डयन क्षेत्रमा तपाईँ यसको प्रयोग गर्न सक्नुहुनेछ, यातायात क्षेत्रमा, अध्यागमनमा यसको प्रयोग हुनसक्छ । तपाईँ तत्काल नमुना लिन सक्नुहुन्छ, यसका लागि शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु पर्दैन। नमुना सङ्कलनका लागि विशेषज्ञ जनशक्ति चाहिँदैन र केही मिनेटभित्रै तपाईँ नतिजा पाउन सक्नुहुन्छ,” उनले थपे।

इम्स्पेक्सले साउथ वेल्सको क्यानन भ्यालीस्थित आफ्नो मुख्यालयमा नयाँ यन्त्रहरूको विकास गरेको हो । खासमा फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगहरूबीच तत्काल कसरी फरक छुट्ट्याउने भन्ने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो ।

तर कोरोनाभाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लियो । “हामीसँग यो क्षेत्रमा अनुभव छ र त्यसको कार्यान्वयनमा अनुभव छ। कोभिड आएपछि हामीले त्यो दिशातर्फ हामीलाई मोडिदियो,” इम्स्पेक्स कम्पनीका प्रमुखले थपे ।

कोरोनाभाइरस महामारी फैलिएको प्रारम्भिक चरणतिर एडिन्बरा र जर्मनीको डोर्टमन्डस्थित अस्पतालका बिरामीहरूमा कम्पनीले विकास गरेको प्रविधिको परीक्षण गरिएको छ । लफबरा विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले कोभिड-१९ का बिरामी र छातीसम्बन्धी सङ्क्रमणका अन्य बिरामीबीच ती यन्त्रहरूले फरक छुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर हेरेका थिए।

उक्त यन्त्रले मानिसको सासमा श्वासप्रश्वाससम्बन्धी निश्चित रोगको सङ्केत दिने कुनै विशिष्ट रसायन छ कि भनेर वैज्ञानिकहरूलाई जानकारी दिन सक्छ । उक्त परीक्षणमार्फत्‌ कोभिड १९ जनाउने विशिष्ट रसायन पत्ता लागेको छ जसलाई परम्परागत पीसीआर विधिबाट पुनर्पुष्टि पनि गरिएको छ ।

दम वा ब्याक्टेरियाले गराउने निमोमियाजस्ता अरू रोगसँग छुट्ट्याएर कोभिड-१९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको पाइयो । यो प्रविधिको विकास गर्ने कम्पनीले अस्पताल अथवा विमानस्थलमा दैनिक प्रयोग गर्न लैजानुअघि त्यसलाई अझै परिस्कृत गर्नुपर्ने जनाएको छ ।

“हाम्रो कम्पनी सानो छ। यदि हामीसँग उपलब्ध स्रोतसाधनकै प्रयोग गर्ने हो भने समस्याको हल पाउन १२ देखि १८ महिना लाग्न सक्छ,” इम्स्पेक्स कम्पनीका प्रमुख सान्टी डोमिनगुएजले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!