
अस्पताल भन्छ : सरकारले तोकेको दर रेटमा उपचार गर्न सकिँदैन
विराटनगर, १८ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमितहरुको उपचारमा जथाभावी शुल्क लिने अस्पतालहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित निजी अस्पतालहरुको प्रतिनिधि सहितको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।
सरकारले तोकेको दर रेटमा कोरोना संक्रमितहरुको उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने निर्णय गरिएको हो । विराटनगरका निजी कोभिड अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा ५ हजार देखि ५० हजार रुपैयाँ शुल्क लिएको गुनासो आएपछि सर्वपक्षीय छलफल गरिएको हो ।
सरकारले सामान्य कोरोना संक्रमितको दैनिक साढे ३ हजार, आईसियु बेडको ७ हजार र भेन्टिलेटरको १५ हजार रुपैयाँ शुल्क तोकेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिए कानुनअनुसार कारवाही गर्न बाध्य हुने र कोरोना महामारीमा सामाजिक उत्तरदायित्व बहन गर्न निजी अस्पतालहरुलाई कारबाही गर्न बाध्य हुने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
तर विराटनगर अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले सरकारले उपचार खर्च हटाएपछि कोरोना संक्रमित बिरामीको संख्या घटेका कारण सरकारले तोकेको दर रेटमा उपचार गर्न नसकिने बताए ।