
विराटनगर, १८ कात्तिक । टर्कीमा एक तीन वर्षीय बालिकालाई भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएको ६५ घण्टापछि जीवितै उद्धार गरिएको छ । झन्डै तीन दिन भत्किएको घरमा पुरिएकी बालिकाको उद्धारलाई चमत्कार भनिएको छ । शुक्रवारको भूकम्पपछि टर्कीमा उद्धारकार्य जारी छ ।
गत शुक्रबार टर्कीमा शक्तिशाली भूकम्प गएकाे थियो । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।
हालसम्म सो भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको जनाइएकाे छ । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ ।
भूकम्पपछि एक हजारभन्दा बढी पराकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ परकम्पहरु ४ म्याग्निच्युडका भन्दा माथिकै रहेका र स्थानीय बासिन्दाले महसुश गरेका जानकारी दिएका छन् ।