२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

टीकापुर, १९ कात्तिक । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् ।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७–७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो ।

कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् ।

कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् ।

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । यी सहकारी र कम्पनीले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीजवृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन् ।

अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल रु ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए ।

कृषि सहकारीले किसानलाई रकम भुक्तानी गरेको प्रमाणको आधारमा सहकारीले सरकारबाट अनुदान पाउने व्यवस्था छ । सरकारको समर्थन मूल्यभन्दा बढी नै मूल्यमा धान खरिद गरे पनि किसानलाई तत्काल नगद रकम दिइरहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउदले बताए ।

बजारमा गल्ला व्यापारीले यही धान रु दुई हजार १०० सम्म मात्र मूल्य दिने गरेका छन् । टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत धान खरिद सुरु गरेको छ । किसानले खाद्यमा मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ८८५ मा बिक्री गरिरहेका छन् ।

सहकारीमा बिक्री गर्नेले यसमा १५ देखि २० प्रतिशत थप रकम पाइरहेका छन् । स्थानीय रामदुलारे चौधरी बजारको मूल्यभन्दा करिब रु एक हजार बढी रकम पाउनु किसानका लागि खुशीको कुरा भएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!