
विराटनगर, १९ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मिया रहेका छन् ।
बुधबार दिउँसो मियाको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरू भण्डारण, ओसार–पसार तथा बिक्रीवितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल विभिन्न किसिमका पटका बरामद गरेको हो ।
पटकासहित पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारवाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।