
चितवन, १९ कात्तिक । चितवनका गाईमा ‘लम्पी स्किन’ डिजिजको संक्रमण तीब्र रुपमा फैलिएको छ । गाईको शरीरमा घाउ देखिने, बिमिरा आउने, खुट्टा सुनिनेसहित ज्वरो आई बेहोस हुने समस्या अत्यधिक देखिएको छ । पश्चिम चितवनको पशुपालन र दुग्ध उत्पादनको पकेट क्षेत्र मानिने गीतानगरलगायतका क्षेत्रमा यो समस्या बढ्दै गएकोले किसानहरु चिन्तित छन् ।
गाईमा यस्तो लक्षण राप्ती नगरपालिकामा असारको अन्तिम हप्ता पहिलोपटक देखिएको थियो । अहिले यो रोग चितवनका अधिकांश किसानका गोठमा फैलिएको छ ।
गीतानगरका पशुपालक किसान पवित्रा सुवेदी पौडेलका अनुसार गाईको शरीरमा सामान्य देखिएको डाबर भोलिपल्ट शरीरभरि फैलिने, खुट्टा, नाक सुनिने, ज्वरो आउने लक्षणसँगै गाई दुब्लाउने र दुध ठ्याप्पै हुन्छ ।
उनका अनुसार यो रोग लागेपछि गाईको दुध उत्पादन क्षमतामा ह्रास आउँछ । उनका गोठमा अहिले ८ वटा गाई छन् । उनले प्रतिदिन करिव ५० लिटर दुध नजिकैको अन्नपूर्ण डेरीमा लगेर बेच्ने गर्छिन् ।
गाईमा यो रोग लागेपछि शरीरमा ठूला साना फोका देखा पर्दछन् । सुनिएको र फोका देखा परेको भागमा पोटास पानीले धोईदिने र सामान्य औषधी लगाइदिने गरेको पिडित किसान सारदा तिम्सना बताउँछिन् ।
संक्रमण रोक्न केन्द्र सरकारले कुनै भूमिका निर्वाह नगरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले बताउँछन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईंका अनुसार चितवनका ७ स्थानीय तह मध्ये ५ स्थानीय तहका पशुमा यो रोग देखिएको छ ।
भरतपुर महानगरपालिकामा १ सय ३२, राप्तीमा ११ सय ९१, खैरहनी नगरपालिकामा ७ सय ६५, रत्ननगरमा १ हजार र कालिका नगरपालिकामा २९ सय ५२ पशुमा यो रोग देखिएको छ ।
अहिलेसम्म जिल्लामा २४ वटा पशु यही रोगका कारण मरिसकेका छन् । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने अहिलेसम्म यो रोग देखा परेको छैन । जिल्लामा यसको रोकथाम गर्न अभियान संचालन गनुपर्ने चापागाईंको भनाई छ ।
चितवन जिल्ला दुग्ध पदार्थमा आत्मनिर्भर जिल्ला हो । यहाँ दैनिक ३ लाख लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ ५ सयभन्दा बढी व्यवसायिक पशुपालक किसानहरू छन् । करिब ३० हजार मानिसले सहकारीमा दूध बिक्री गर्छन् । करिब ५० हजारदेखि २ लाख मुल्यका गाई यहाँका किसानका गोठमा छन् ।