
पाल्पा, २० कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले बाँझो जमिन उपयोग गर्ने किसानहरूलाई अनुदान वितरण गरेको छ । लकडाउनको समयमा विभिन्न वडाहरूमा बाँझो जमिनको उपयोग गर्ने ११४ जना किसानलाई अनुदान वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले किसानहरूलाई अनुदान वितरण गर्दै यस प्रकारको अभियानले उद्यमशीलता प्रवर्द्धन हुने भएकोले गाउँपालिकाले महत्त्व दिएर यो कार्यक्रम बनाएको बताए ।
उपाध्यक्ष चेत कुमारी थापाले गाउँपालिकाले लकडाउनको समयमा मानिसहरू कृषिमा उत्प्रेरित भइरहेको बेला अनुदानको कार्यक्रम ल्याएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले गाउँपालिकाले बाँझो जमिन उपयोग गर्ने किसानहरूको लागि फलफूल लगाउनेलाई प्रतिरोपनी २ हजार र खेती गर्नेलाई प्रतिरोपनी ३ हजारका दरले अनुदान रकम वितरण गरिएको जानकारी दिए ।
अनुदान रकम लिनका लागि पालिकाले तोकेअनुसार कम्तीमा ३ रोपनीमा खेती तथा फलफूल लगाएको हुनुपर्ने व्यवस्था गरेको उनले बताए ।
यसरी बाँझो रहेको जमिन उपयोग गरेबापत पालिकाले अनुदान रकम वितरण गरेपछि किसानहरु उत्साहित भएका छन् ।