
काठमाडौँ, २० कात्तिक । तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुचि छैन ।
कुलेश्वरमा १० वर्षदेखि भाइमसलादेखि अन्य मसलाको व्यापार गर्दै आएका रवि शाह यस्तो शून्य तिहार कहिल्यै नभएको बताउँछन् ।
उनका अनुसार तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन । गत वर्षभन्दा यो वर्ष केजीमै दुई सय रुपैयाँसम्म घटेको भाइमसलाको व्यापार नै छैन ।
‘किन्न आउनेले पनि एक केजी किन्नेले एक पाउ, आधा पाउ मात्रै किनेका छन्, बजारमा माग नै छैन,” उनले भने ।
मखन गल्लीमा व्यापारी साथीसँग बुझ्दा पनि कारोबार नै नभएको पाएको उनले बताए ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाजन्य हरेक वस्तुको मूल्य गत वर्षभन्दा यो वर्ष घटेको देखिन्छ । संघले तिहारमा प्रयोग हुने वा बढी कारोबार हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष प्रतिकेजी कम्तीमा २० देखि पाँच सय रुपैयाँसम्म सस्तो भएको जनाएको छ ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठले यसपटकको तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ र माग दुवै घटेको जानकारी दिए । उनका अनुसार माग लगभग आधाले घटेको छ ।