२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ मंसिर: देवानगञ्ज गाउँपालिकाले अब पालिकाका कार्यालय र सातै वडा कार्यालयहरूमा दर्ता, चलानी, सिफारिस लगायतका सबै प्रकारका सेवाहरू अनलाइन प्रणाली मार्फत उपलब्ध गराउन थालेको छ। आइतबार देखि सुरु भएको यो नयाँ व्यवस्थाले सेवाग्राहीहरूले सहज र छिटो सेवा पाउने अवसर जुटाएको छ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले केही वडामा देखिएका सेवा सम्बन्धी गुनासो र पारदर्शीता कायम राख्न अनलाइन प्रणाली लागू गरिएको जानकारी दिए। उनले भने, “हामीले अनलाइन प्रणालीबाट सेवा छिटो, पारदर्शी र गुनासोमुक्त बनाउने प्रयास गरेका छौं। यसले सम्भावित अनियमितता पनि घटाउनेछ।”

देवानगञ्जका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीका अनुसार अनलाइन प्रणालीले नागरिकहरूलाई कार्यालय धाउन नपरी नै सेवा पाउने वातावरण सिर्जना गरेको छ। उनले भने, “यो प्रणालीले पालिकाको कार्यसम्पादन सुधार्दै, राजस्व संकलनमा समेत वृद्धि गर्नेछ।
सूचना प्रविधि अधिकृत जनार्दन प्रसाद मेहताले आगामी दिनमा यो प्रणालीलाई विस्तार गर्दै इ-सिफारिसलाई समेत थप सुदृढ बनाउने योजना रहेको बताए। उनका अनुसार यसले नागरिकहरूलाई घरमै बसेर आवेदन दिन र सिफारिस प्राप्त गर्न सम्भव बनाउँछ।

यो पहलले देवानगञ्ज गाउँपालिकाका नागरिकहरूको समय र श्रम दुवै बचत गर्दै सेवाप्रवाहमा आधुनिकता थप्नेछ। अनलाइन प्रणालीले पालिकाको प्रशासनिक पारदर्शिता र सेवाग्राहीको सन्तुष्टिमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!