
विराटनगर, १९ माघ : भारत सरकारको आर्थिक वर्ष २०२५/२६ को वार्षीक बजेट सार्वजनिक भएको छ। भारत सरकारकी वित्त मन्त्री निर्मला सितारमणले शनिबार लोकसभामा पेस गरेकी हुन्।
सार्वजनिक बजेट अनुसार भारतले नेपाललाई ७ अर्ब भारतीय रुपैयाँ वित्तीय सहायता प्रदान गर्ने भएको छ। जुन ११ अर्ब २० करोड नेपाली रुपैयाँ हुन आउँछ। अघिल्लो बजेटमा पनि भारत सरकारले समान ७ अर्ब भारतीय रुपैयाँ नै नेपाललाई वित्तीय सहायता गरेको थियो।
भारत सरकारको विदेश मन्त्रालयबाट सञ्चालन हुने परियोजनाबाट छिमेकी देशहरूलाई यो वित्तीय सहायता प्रदान गर्दै आएको छ।
यसवर्ष भारतले सर्वाधिक २१ अर्ब ५० करोड भारतीय रुपैयाँ रकम भुटानलाई यो सहायता दिँदैछ। जुन भुटानलाई अघिल्लो वर्ष दिएको तुलनामा भने कम हो। अघिल्लो वर्ष २५ अर्ब ४३ करोड भारतीय रुपैयाँ प्रदान गरेको थियो।
यसवर्ष अफगानिस्तानलाई एक अर्ब, बांग्लादेशलाई एक अर्ब २० करोड, श्रीलंकालाई तीन अर्ब, माल्दिभ्सलाई ६ अर्ब, म्यानमारलाई ३ अर्ब ५० करोड भारतीय रुपैयाँ आर्थिक सहायता दिने सितारमणको बजेटमा उल्लेख छ।
