
विराटनगर,४ फागुन: आकस्मिक स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले मोरङका ट्राफिक प्रहरीलाई ‘आधारभूत जीवन सहयोग’ (BLS) तालिम प्रदान गरेको छ।
एनेस्थेसियोलोजी, क्रिटिकल केयर एण्ड पेन म्यानेजमेन्ट विभाग तथा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी, नेपालको सहकार्यमा आयोजित उक्त तालिम शनिबारदेखि सुरु भई सफलतापूर्वक सम्पन्न भएको हो। तालिममा मोरङ जिल्लाका ३३ जना ट्राफिक प्रहरी सहभागी थिए।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी का अध्यक्ष शिव शंकर मण्डलका अनुसार तालिमको प्रारम्भमा आधारभूत जीवन सहयोगसम्बन्धी संक्षिप्त प्रस्तुति दिइएको थियो। त्यसपछि, मानिकिन्सको प्रयोग गरी व्यवहारिक प्रशिक्षण गराउँदै सहभागी प्रहरीलाई विभिन्न परिदृश्यहरूमार्फत अभ्यास गराइयो। प्रशिक्षकहरूको अगाडि समूहगत रूपमा सिकाइएका सीपहरू प्रदर्शन गर्ने अवसरसमेत प्रदान गरियो।
नोबेल मेडिकल कलेजको एनेस्थेसियोलोजी विभाग प्रमुख सहप्राध्यापक डा. बन्दना पौडेलको नेतृत्वमा सम्पन्न तालिममा डा. रुपक भट्टराई, डा. सञ्जय गौतम, डा. रोशन कार्की र डा. निरा सहभागी थिए।
यस तालिमले ट्राफिक प्रहरीलाई सडक दुर्घटना वा आकस्मिक अवस्थाहरूमा तिव्र र प्रभावकारी रूपमा प्राथमिक स्वास्थ्य सहायता प्रदान गर्ने क्षमतामा सुधार ल्याउने विश्वास लिइएको छ।