 
							सुनसरी ,जेठ ४ — सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित खारखोला क्षेत्र अफ्रिकन स्वाइन फिभरको चपेटामा परेपछि तीन वटा फार्म प्रभावित भएका छन्। हालसम्म ३१ वटा बंगुरको मृत्यु भएको छ भने ६० भन्दा बढी बंगुरमा लक्षण देखिएको नगर पशु शाखाले जनाएको छ।
नगर पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार पहिलो संक्रमण कुमार विकको फार्ममा देखिएपछि क्रमशः छिमेकी किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको फार्ममा समेत फैलिएको हो। उनले भने, “स्वाइन फिभरको संक्रमण तीव्र गतिमा फैलिन सक्ने भएकाले सतर्कता आवश्यक छ।”
संक्रमण नियन्त्रणका लागि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला, विराटनगरबाट प्राविधिक टोली परिचालन गरिएको छ। प्रभावित फार्महरूमा औषधी, मल्टी भिटामिन र एन्टिबायोटिक वितरण गरिएको छ। साथै, फार्म सञ्चालकहरूलाई जैविक सुरक्षाका उपायहरू अपनाउन निर्देशन दिइएको अधिकारीले जानकारी दिए।
पहिलोपटक वराहक्षेत्रमा देखिएको यो रोगको सन्त्रास फैलन नदिन प्रभावित क्षेत्रलाई शिलबन्दी गरिएको छ। साथै, संक्रमण बढ्न नदिन बंगुरको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्राविधिकहरूका अनुसार अफ्रिकन स्वाइन फिभर कुनै मानिसमा सर्नेसक्ने रोग होइन। तर, यो अत्यधिक संक्रामक र घातक भएकाले किसानहरूको लागि ठूलो आर्थिक जोखिम निम्त्याउने खालको हो।
स्थानीय तहले सतर्कता अपनाउँदै थप संक्रमण फैलिन नदिन निगरानी बढाएको जनाएको छ। प्रभावित किसानहरूले भने आर्थिक क्षतिको राहत र रोग नियन्त्रणमा थप सरकारी सहयोगको माग गरेका छन्।


 
										 
												 
												 
												 
												 
												 
												

