
कञ्चनपुर, २२ कात्तिक । सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य सुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य सुरु गरेको छ ।
कम्पनीका निमित्त कार्यालय प्रमुख नारायणप्रसाद खरलेले भाे, “कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु गरेका छौँ । टोकन प्रणालीअनुसार धान खरिद हुन थालेपछि भीडभाड नभई सहजरुपमा धान खरिदको कार्य भइरहेको छ ।”
उनका अनुसार शुरुमा दुईवटा काँटा राखेर धान खरिद शुरु गरिएकामा कार्यलाई छिटोछरितो बनाउनका लागि तीनवटा काँटा थपिएका छन् । यसबाट एकैपटक धेरै किसानको धान खरिद गर्न सहज भइरहेको छ ।
कम्पनीले धान खरिदका लागि हालसम्म १५० टोकन वितरण गरेको छ । “कम्पनीमा ५० क्विन्टलमाथि धान बिक्री गर्न ल्याउने किसानसँग लालपुर्जा माग्ने गरेका छौँ”, निमित्त कार्यालय प्रमुख खरेलले भने, “वास्तविक किसान हो-होइन भनेर लालपुर्जा माग्ने गरिएको छ ।” व्यापारीहरुले समेत किसानबाट सस्तोमा धान खरिद गरी कम्पनीमा बेच्नका लागि ल्याउने भएकाले लालपुर्जा माग्ने गरिएको उनको भनाइ छ ।
कम्पनीलाई सात हजार क्विन्टल धान खरिदका लागि कोटा निर्धारण गरिएको छ । हालसम्म कम्पनीले ५०० क्विन्टल बढी धान खरिद गरिसकेको छ । गत वर्षसमेत सात हजार क्विन्टलकै हाराहारीमा कम्पनीले धान खरिद गरेको थियो ।
मंसिर ३ गतेसम्मका लागि धान खरिद गर्न कम्पनीले टोकन वितरण गरिसकेको छ । किसानलाई पालो पुर्याएर कम्पनीले टोकन दिने गरेको छ । यस वर्ष धानको उत्पादन बढी भएकाले निर्धारित कोटाभन्दा बढी धान खरिद हुने कम्पनीका कर्मचारीको भनाइ छ ।
कम्पनीले मोटो धान मात्रै सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु दुई हजार ७३५ मा खरिद गरिरहेको छ । असार महिनामै सरकारले धानको दररेट निर्धारण गरे पनि कम्पनीले धेरै ढिलो धान खरिद गर्न शुरु गरेको हो । कार्यालय र आर्थिक व्यवस्थापन गर्न ढिलाइ हुँदा धान खरिदकार्यमा विलम्ब भएको कम्पनीका कर्मचारीको भनाइ छ ।
खरिद गरिएको धान कम्पनीले भण्डारण गरी बोलपत्र प्रक्रियाद्वारा धानको कुटाइ गरी चामल बनाइ धनगढीको कैलालीको कार्यालयमा पठाउने गर्दछ । कैलालीस्थित कम्पनीको कार्यालयले चामलको अभाव भएका पहाडी, हिमाली जिल्लामा सहुलियत दरमा चामल बिक्री वितरणको कार्य गर्दै आएको छ ।
कञ्चनपुरमा खेती गरिएको कूल क्षेत्रफल ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४९६ हेक्टरमा हुने गरेको छ । यसको उत्पादन एक लाख ८९ हजार १३४ दशमलव ४० रहेको छ । चालु आवमा धानको उत्पादन १५ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।