
विराटनगर, २४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरूले परिणाम देखिनेगरी काम गर्नुपर्ने बताएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेशस्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले अस्पतालहरूले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउनेगरी काम गर्नसमेत निर्देशन दिए ।
जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोहीअनुसार देखिनुपर्ने बताउँदै मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए ।
चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोडदेखि ३५ करोडसम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको उनले बताए । पछिल्लो अढाई बर्षमा अस्पतालहरूले जनशक्ति, यन्त्रउपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवस्यक रहेकोमा उनले जोड दिए ।
‘प्रदेश सरकार गठन पछिको अढाई वर्षकै समीक्षा आवश्यक छ,’ उनले भने । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिए । स्वास्थ्यकर्मीलाई घर घरमा गएर वीमा गर्न सुझाव उनले दिए ।
मन्त्री घिमिरेले भने, ‘घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य बीमा गर्नुहोस् ।’ निजी अस्पतालले दिने सेवाभन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ । उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियू सहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको बताए ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।