
रौतहट । रौतहटमा बुधवार राति एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारी साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
बुधवार राति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट युवतीको घटनास्थलमै मृत्यु भएको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभएको छ ।
विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गर्यो सो भन्ने बारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
युवतीको हत्या प्रेम सम्बन्धको कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
गत २०७६ फागुनमा युवतीको विहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग भएको थियो तर विहेपछि युवतीको एकजना पुरुषसँग अबैध प्रेम सम्बन्ध कायम भएको थियो । असारमा युवती अमृता कुमारीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा बस्दै आएकी थिइन् ।
युवतीको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको र हाल उनीहरु फरार रहेकाले व्यापक खोजतलास भइरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो ।